धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अधिकतम हिस्सा देखिएको छ ।
विसं २०७९ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत २३९ कम्पनीहरूको संख्या रहेकोमा १४५ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६० प्रतिशत रहेको छ ।
यस्तै नेप्सेमा सूचीकृत २३९ कम्पनीहरुमध्ये ५७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका कम्पनीहरु सूचीकृत रहेका छन् । धितोपत्र बजार पुँंजीकरणमा लगानी कम्पनीको ६.७० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३० प्रतिशत, होटेलको हिस्सा १.६० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३० प्रतिशत रहेको छ ।
विसं २०७८ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेकोमा एक वर्षको अवधिमा थप १९ कम्पनी नेप्सेमा सूचीकृत भएका हुन् । पछिल्लो एक वर्ष अवधिमा सेयर बजार मापक नेप्से ९०१.९० अंकले घटेको छ । २०७८ भदौ मसान्तमा २८१२.३० रहेको नेप्से सूचकाङ्क २०७९ भदौ मसान्तमा घटेर १९१०.४ अंकमा आइपुगेको छ ।
विसं २०७९ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड कायम भएको छ । २०७८ भदौ मसान्तमा बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रहेको थियो । समीक्षा अवधिमा ११ खर्ब ९० अर्ब ८६ करोडले बजार पुँजीकरण घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ भदौसम्ममा सूचीकृत ६ अर्ब ८१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ७१ अर्ब १४ करोड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया