सोल्टी होटेलको बुकक्लोज निर्धारण, २६.३२% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

0
Shares

सोल्टी होटलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २६.३१५७ प्रतिशत लाभांशको बुकक्लोज तोकेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश होटेलको आगामी साधारण सभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा वितरण हुनेछ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको असोज ३१ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको समेत २१.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ । ४ करोड २१ लाख २८ हजार ९८६ रुपैयाँ बोनस वितरणपछि होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख ८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

कोभिड महामारी फैलिएका कारण पर्यटकहरुको आवागमनमा कमी आउँदा अघिल्लो दुई आव २०७७।७८ तथा २०७६/७७ बाट होटलले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्न सकेको थिएन । आव २०७५/७६ बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।