कुमारी बैंकले लिमिटेडले पारित भएको दिनदेखि नै नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
बैंकले असोज २१ गते २२ औं वार्षिक साधारण सभा सम्पन्न गरी बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँको १२.५० प्रतिशत (कर समेत) नगद लाभांश पारित गरेको थियो । सोही दिनदेखि नै बैंकले सम्बन्धीत सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश बैंकमा खातामा पठाउन सुरु गरेको जनाएको छ ।
बैंकले साधारण सभा सम्पन्न भएकै दिनबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन थालेको हो । यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।
लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुकक्लोज गरेको थियो । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकको सेयर कारोबार भने मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि नै रोक्का थियो । बुकक्लोजको आधारमा असोज १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई नियम अनुसार सेयर रजिष्ट्रारको कार्यालयमा रहेको सेयर नामसारीको लिखत (सेयरधनी दर्ता किताब) मा कायम हुन आएको आधारमा कात्तिक १४ गतेसम्म कायम सेयरधनीहरूलाई लाभांश पाउनेछन् ।
नगद लाभांश कर कट्टा गरी सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । कात्तिक १४ गतेसम्म धितो बन्धक राखी कर्जा सुविधा उपयोग गरेको सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामै जम्मा गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया