सिक्लेस हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ । दुबै कम्पनीले सर्वसाधारणमा जारी गरेका आईपीओ र संस्थापक समुहको सेयर एकसाथ सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावरको प्रतिसेयर अंकित १०० रुपैयाँ दरमा ८५ करोड मूल्यको ८५ लाख कित्ता र खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम प्रतिसेयर अंकित १०० रुपैयाँ दरमा ४ करोड मूल्यको ४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सिक्लेस हाइड्रोपावरलाई ‘एसआइकेएलइएस’ (SIKLES) र खप्तड लघुवित्तलाई केएलबीएस’ (KLBS) कारोबार संकेत प्रदान गरिएको छ ।
साथै नेप्सेले दुबै कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणका आधारमा कायम प्रतिसेयर नेटवर्थका आधारमा कारोबार रेञ्ज समेत तोकेको छ । जसअनुसार सिक्लेसको सेयरलाई प्रतिकित्ता न्यूनतम ११६.८६ देखि ३५०.५८ रुपैयाँसम्म तथा खप्तड लघुवित्तको सेयरलाई प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्मको ओपनिङ कारोबार रेन्ज निर्धारण गरिएको छ ।
नेप्सेले पहिलो कारोबारको लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । नेप्सेले तोकेको कारोबार रेञ्जभित्र रहेर दुबै कम्पनीको मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा तोकिएको संकेतमा सेयर कारोबार खुल्नेछ । कुनैपनि कम्पनीको धितोपत्र सूचीकृत भएको दोस्रो दिनदेखि मात्र नेप्सेमा सेयर कारोबार हुने गरेको छ ।
सिक्लेस हाइड्रोपावर कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो । साथै सेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा बिओके क्यापिटल मार्केट लिमिटेड नक्सालबाट हुनेछ ।
खप्तड लघुवित्त कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो भने संस्थापकहरूको २ लाख ६८ हजार कित्ता लगानी गरेको गरी कुल ४ लाख कित्ता सेयर सूचीकृत गराएको छ । साथै लघुवित्त कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरबाट दिने पनि जानकारी दिएको छ ।
सिक्लेस हाइड्रोपावरको आईपीओ असोज ११ गते तथा खप्तड लघुवित्तको आईपीओ गत भदौ २० गते बाँडफाँड भएको थियो ।
सम्बन्धित थप समाचारहरूः-
खप्तड लघुवित्तको आईपीओ तपाईलाई पर्यो कि परेन ? यी ४ स्थानबाट हेर्नुहोस् नतिजा
खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, एक लाख ४४ आवेदन अयोग्य
खप्तड लघुवित्तको आईपीओ अधिकतम ३०३ रुपैयाँसम्म खुल्ने
सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ५ हजार ८०० जनाले पाए सेयर
सिक्लेस हाइड्रोपावरको आईपीओ पर्यो कि परेन ? हेर्नुहोस् नतिजा
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया