नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ करोड ३८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार तथा जीवन बीमाबाट १० करोड ८८ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५७ करोड ५३ लाख ५६ हजार तथा जीवन बीमाबाट ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
निर्जीवनतर्फको खुद नाफा घटेको भएपनि जीवन बीमातर्फको नाफा बढेपछि कम्पनीको समग्र खुद नाफा १०.४४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ६१ करोड १ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२०७९ असार मसान्तसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ तथा जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।
चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब ८२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । जसमध्ये निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख रुपैयाँ र जीवन बीमातर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ सञ्चित छ । एक वर्षमा निर्जीवन व्यवसायतर्फ ४ अर्ब ४१ करोड ८२ हजार र जीवन बीमातर्फ ४१ करोड २९ लाखले जगेडा कोष मजबुत बनेको छ । कम्पनीको निर्जीवन बीमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.०५ रुपैयाँ छ ।
कम्पनीले गत आवमा लगानी कर्जा र अन्य आयबाट १ अर्ब ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा तुलनामा यस्तो आम्दानी १० करोड ८१ लाख रुपैयाँले बढेको हो ।
गत आवमा कम्पनीले ७ अर्ब २१ करोड १२ लाख दाबी भुक्तानी गर्दा १ अर्ब ९७ करोड ६६ लाख दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५अर्ब ५० करोड दाबी भुक्तानी गर्दा १ अर्ब ७९ करोड ९९ लाख भुक्तानी गर्न बाँकी थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया