सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ बिक्री खुला हुने भएको छ ।
दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेका हुन ।
सुपरमाई हाइड्रो
सुपरमाई हाइड्रोले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ। 
यस्तै ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागिनिष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
माया खोला हाइड्रोपावर
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सो क्षेत्रबाहेकका संखुवासभा जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २४ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया