चर्को शुल्क लिने ठूला इन्टरनेट सेवा प्रदायक नै परे कारवाहीमा

0
Shares

नेपाल दुरसञ्चार प्राधिकरणले चर्को इन्टरनेट शुल्क लिने इन्टरनेट सेवा प्रदायक संस्थालाई कारवाही गरेको छ । सेवा प्रदायकले प्राधिकरणसँग अनुमति नलिइ आफु खुशी सेवा शुल्क लिन थालेकोे पाइए पछि प्राधिकरणले कारवाही गर्न थालेको हो । ठूला इन्टरनेट सेवा प्रदायक नै यस्तो कारवाहीमा परेका छन् ।

प्राधिकरणले सीजी कम्युनिकेशन्स, वल्र्डलिंक, वाईफाई नेपाल, वेबसर्फर नेपाल कम्युनिकेशन, सुबिसु केवलनेट, क्लासिक टेक, भायानेट कम्युनिकेसन, डिश मिडिया नेटवर्क, म्याक्सनेट सोलुशन्सलाई कारबाही गरेको हो । प्राधिकरणले यि सेवा प्रदायकसँग १५ दिनको समयावधि दिई स्पष्टिकरण माग गरेको छ । सेवा प्रदायक जवाफ पछि कारवाही प्रक्रिया अगाडी बढ्ने प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायक संस्थाले सेवा सञ्चालन गर्नुपूर्व प्राधिकरणसँग अनुमति लिनुपर्नेछ । अनुमति लिदा उनीहरुले उपलब्ध गराउने सेवा र त्यसको शुल्क समेत तोक्नुपर्नेछ । प्राधिकरणले सेवा र शुल्क बैज्ञानिक लागेमा स्वीकृति दिनेछ । यदी सेवा प्रदायक सेवाग्राहीले दिने प्याकेज सुविधा र शुल्कमा फेरवदल गर्न चाहेमा प्राधिकरणसँग पुनः अनुमति लिनुपर्नेछ ।

तर, सेवा प्रदायक संस्था प्राधिकरणसँग अनुमति नलिई आफुखुशी प्याकेज र शुल्क तय गरेको पाइएको प्राधिकरणले जनाएको छ । जसअनुसार प्राधिकरणले ती सेवा प्रदायकहरुलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम ‘किन कारवाही नगर्ने’ भनी १५ दिनको समयावधि दिई स्पष्टिकरण माग गर्ने र स्पष्टिकरण प्राप्त भए पश्चात पुनः पेश गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो।

यसअघि प्राधिकरणको एक टोलीले सञ्चालनमा रहेको इन्टनेट प्याकेज, ग्राहक तथा सेवाग्राही शुल्क सम्बन्धमा स्थलगत अनुगमन तथा निरिक्षण समेत गरेर प्रतिवेदन बुझाएको थियो । सोही बमोजिम प्राधिकरणले सेवा प्रदायक संस्थाको वेवसाइटमा भएको ग्राहक सहितको विवरणहरुको अध्ययन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।