कालिका पावरले १५% बोनस बाँड्ने, पुस २९ गते बोलायो एजीएम

0
Shares

कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस ६ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ६९ करोड रुपैयाँको १५ प्रतिशत (१० करोड ३५ लाख रुपैयाँ)का दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत (५४ लाख ४७ हजार ५५० रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा समेत बोलाएको छ । कम्पनीले पुस २९ गते शुक्रबार आफ्नो रजिष्टर्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।

लाभांश प्रस्ताव सहित साधारण सभाबाट कालिका कन्स्ट्रक्सन प्रालि अन्तर्गतको गोरखा जिल्लास्थित दरौदी खोलामा प्रस्तावित ८.३ मेगावाटको माथिल्लो दरौदी बी साना जलविद्युत आयोजना र ९.८२ मेगावाटको माथिल्लो दरौदी सी साना जलविद्युत आयोजना खरिद गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

यस्तै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने २ जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका अन्य प्रस्तावहरु पनि सभामा रहनेछन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।