मञ्जुश्री फाइनान्सले डाक्यो साधारण सभा, मर्जर मुख्य एजेण्डा

0
Shares

मञ्जुश्री फाइनान्सले पुस २९ गते थापागाउँ ब्याक्वेटमा साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आह्वान गरेको साधारण सभामा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जरमा जाने मुख्य एजेण्डा रहेको छ । अघिल्लो वर्ष सेयरधनीलाई चुक्ता पुँजीको ४६ प्रतिशत लाभांश वितरण गरेको फाइनान्स कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिएन ।

सभामा मर्जरमा जाने निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ । मञ्जुश्री फाइनान्स र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने गर्ने वा प्राप्ती गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा मञ्जुश्रीको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

सभामा पेश हुने अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आव २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने रहेको छ ।

साथै सभामा संस्थापक समूहका सेयरधनिहरुको तर्फबाट निर्वाचित सञ्चालकहरु मध्येका एक जना सञ्चालकज्यूले दिनु भएको राजिनामा स्वीकृत भए पश्चात् निजको बाँकी अवधिको कार्यकालका लागि नियुक्त हुनु भएका सञ्चालकज्यूको नियुक्तिका सम्बन्धमा सञ्चालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने र लेखापरिक्षण समितीको सिफारिसमा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । फाइनान्सले वहालवाला लेखापरिक्षक श्री पि. एल.आर.जि. एशोसिएट्स चार्टड एकाउण्टेन्टस् पुनः नियुक्त गर्ने प्रस्ताव पेश गर्दैछ ।

साधारण सभा प्रयोजनको लागि फाइनान्स कम्पनीले पुस १५ गते शुक्रबार बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।