प्रिमियर इन्स्योरेन्सको बोनस बढ्यो नगद घट्यो, पुस २९ मा एजीएम

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन सहित २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कुल १५ प्रतिशत लाभांशमा कुनै परिवर्तन नगरेपनि कम्पनीले यसअघि प्रस्ताव गरेको नगद लाभांशमध्ये कर प्रयोजनका लागि बाहेक सबै नगद लाभांश बोनसमा रुपान्तरण गरेको हो ।

परिमार्जित बोनसपछि अब कम्पनीले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसअघि कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीको पुस ७ गते बिहीबार सम्पन्न भएको सञ्चालक समितिको बैठकले पुस २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । साधारण सभा काठमाण्डौ नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बोलाइएको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्ता पुँजीको १४.२५ प्रतिशत (१७ करोड ४९ लाख ४५ हजार १०० रुपैयाँ) बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

साथै सभाले प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स आपसमा गाभिनेसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ । मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

सभाले प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको मर्जर प्रयोजनका लागि कायम गरिएको १ः१ सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ । मर्जरपछि कम्पनीको सेयर स्वामित्व संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ५९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस २२ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस २१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।