सिद्धार्थ इन्स्योरेन्सले नगदको सट्टा बोनस बाँड्ने, मर्जर र लाभांश पारित गर्न एजीएम आह्वान

0
Shares

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

यसअघि नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको कम्पनीलाई नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएपछि कम्पनीले सोही अनुरुप लाभांश संशोधन गरेको हो ।

अब सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्नेछ ।

यसअघि कार्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ बाट चुक्ता पूँजीको ९.४७३७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो । प्राधिकरणले नगद लाभांश वितरणमा कडाई गर्दै बोनस सेयर वितरण गर्न लगाएको हो ।

अगामी चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड तथा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब पुँजी पुर्याउन निदैृशन जारी गरेको कम्पनीले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न नगद लाभांश वितरणमा रोक लगाएको हो ।

एक वर्ष अघि देखिनै बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाई गर्दै आइरहेको छ । प्राधिकरणले जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीकमलाई आईपर्न सक्ने थप जोखिमको बहन गर्न पूँजी कोषलाई सबल बनाउन अर्को व्यवस्था नहुन्जेलको लागि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो । यद्यपी बीमा कम्पनीहरुले भने बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि भने नगद लाभांश वितरण गर्न सक्नेछन् ।

प्रिमियरसँगको मर्जर प्रक्रिया स्वीकृत गर्न पुस २९ गते साधारण सभा आह्वान

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मर्जर र लाभांश पारित गर्न पुस २९ गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले पुस २९ गते काठमाण्डौ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको २१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–७९ बाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

यस्तै प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स आपसमा गाभ्ने।गाभिने सम्बन्धी विशेष प्रस्ताव तथा प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्र तथा अन्य कामकाबारही सभाले अनुमोदन गर्नेछ । मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको मर्जर प्रयोजनका लागि कायम गरिएको १ः१ सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको सेयर स्वामित्व संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ५९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १८ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस २७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।