स्वेततगंगा हाइड्रोपावरले लाभांश वितरण नगर्ने भएको छ । हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गर्दै साधारण सभा समेत बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गर्दै पुस २९ गते साधारण सभा आह्वान गरेको हो ।
उक्त बैठकले पुस २९ गते कुण्डलिनी दरवार ब्याङ्क्वेट प्रालि चण्डोलामा बिहान ११ बजे छैटौं साधारण सभा बोलाएको छ । साधारण सभाले कम्पनीको पूँजीगत संरचना र सञ्चालक समितिको संरचनामा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ को (घ) र (च) तथा दफा ८ को (क) तथा नियमावलीको नियम ३१ को (१) मा संशोधन गर्ने विशेष प्रस्ताव राखेको छ ।
सभाका अन्य विशेष प्रस्तावहरूमा बैंक कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा छलफल हुनेछ । यस्तै प्रबन्धपत्रको दफा तथा नियमावलीको नियम संशोधन अभिलेखका सम्बन्धमा कम्पनीको तर्फबाट गर्नु पर्ने आवश्यक कार्यहरु गर्न तथा यस सम्बन्धमा सम्बन्धित निकायको निर्देशन बमोजिम फेरवदल वा अन्य आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
साथै सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको अध्यक्षबाट प्रस्तुत छैटौं वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया