नेपाल राष्ट्र बैंकले पुस १२ गते मंगलबार १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका खरिदका लागि सोमबार दिउँसो २ बजेभित्र बोलकबोल गर्न सकिनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।
केन्द्रीय बैंकका अनुसार ९१ दिन अवधिको ६ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र एक वर्ष अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यस्तै ९१ दिन अवधिको ट्रेजरी चैत १४ गते, १८२ दिनको ट्रेजरी २०८० असार १२ गते र एक वर्ष अवधिको ट्रेजरी बिल २०८० पुस १० गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ऋणका लागि स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
ट्रेजरी बिलको प्रमाणपत्र भुक्तानी मिति अगावै खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।










प्रतिक्रिया