सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु, केही मन्त्रीको टुङ्गो लगाउने

0
Shares

सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारी छ । सोही तयारीका लागि सरकारमा सहभागी दलको बैठक सुरु भएको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका साथमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता सहभागी छन् ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।