मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

0
Shares

मल्टीपर्पस फाइनान्सले चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ बाट कुनैपनि प्रकारको लाभांश वितरणको प्रस्ताव नगरेको फाइनान्स कम्पनीले पुस ३० गते आह्वान गरेको २५ औं वार्षिक साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट भने फाइनान्स कम्पनीले चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

सञ्चालक समितिको २०७९ असोज ६ गते बसेको बैठकले हकप्रद सेयर निष्काशन गर्ने र संस्थापक सेयर हिस्सा घटाएर ५१ प्रतिशत कायम गर्ने प्रस्ताव सहित पुस ३० गते शनिबार २५ औं वार्षिक साधारण सभा बोलाएको छ । यो वर्ष फाइनान्सले कुनै लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको केन्द्रीय कार्यलय, राजविराज, सप्तरीमा दिउँसो १ बजेदेखि सभा सुरु हुनेछ । सभाले फाइनान्सको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १००ः३५ को अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै सभामा फाइनान्सको पुँजी संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव हुनेछ । साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनार्थ पुस २० गते बुधबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।