
अंग्रजी वर्ष सन् २०२२ नेपाली सेयर लगानीकर्ताका लागि निराशाको वर्षको रुपमा चित्रित भएको छ । सन् २०२२ सुरू भएकाे कारोबार दिनको तुलनामा अन्तिम कारोबार दिनसम्ममा लगानीकर्ताहरूकाे ६ खर्ब ३२ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ बराबरको सम्पत्ति गुमेको हो ।
सन् २०२२ को पहिलो कारोबार दिनमा नेप्से खुल्नुअघि नेपाली सेयर लगानीकर्ताहरुको सेयर बजारमा रहेको कुल सम्पत्ति ३५ खर्ब ६७ अर्ब ३४ करोड ८१ लाख रुपैयाँ रहेको थियो । अन्तिम कारोबार दिन डिसेम्बर २९ मा आइपुग्दा लगानीकर्ताहरुको सम्पत्ति घटेर २९ खर्ब ३४ अर्ब ४८ करोड ८५ लाख रुपैयाँमा संकुचित बनेको हो ।
सन् २०२२ को सुरुवातमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्व (प्रधानमन्त्री) मा पाँच दलीय गठबन्धनको सरकार रहेकोमा सन् २०२२ को अन्तिम दिन आइपुग्दा सो गठबन्धन भत्किएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । सत्ताधारी गठबन्धनका मुख्य दुई दलहरू नेपाली कांग्रेस र नेकपा माओवादीबीच शक्ति बाँडफाँटबारे कुरा नमिलेपछि प्रतिपक्षमा रहेको नेकपा एमाले सहितका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
नयाँ अर्थमन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछिका ४ कारोबार दिनमा नेप्से १६१.८२ अंकले बढेको हो । सन् २०२१ को अन्तिम दिन ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँको सेयर खरिद बिक्री भएकोमा सन् २०२२ को अन्तिम कारोबार दिनमा ७६ करोड ७१ लख ३४ हजार रुपैयाँ घटेर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्से साढे १९ प्रतिशत घट्दा ठूलो कम्पनीको सूचक सेन्सेटिभमा १७% गिरावट
सन् २०२२ को पहिलो र अन्तिम कारोबार दिनको विश्लेषण गर्दा यस अवधिमा सेयर बजारको समग्र सूचक मापक नेप्से १९.६३ प्रतिशतले घटेको छ । सुरुमा २५२४.५० बिन्दुमा रहेको नेप्से एक वर्ष अवधिमा ४९५.४७ अंकले घटेर २०२९.०३ बिन्दुमा झरेको छ ।
यस्तै नेप्सेमा सूचीकृत ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ८५.११ प्रतिशत घटेर ३९१.३० बिन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत रहेको सेयरमध्ये सर्वसाधारणको हिस्सा मात्र गणनाा गर्ने फ्लोट इन्डेक्स १७.७९ प्रतिशत घटेर १४२.२२ बिन्दुमा झर्दा ठूला कम्पनीमा रहेको सर्वसाधारणको सेयर मात्र गणनाा गर्ने सूचक सेन्सेटिभ फ्लोट १४.९३ प्रतिशत घटेर १२९.४८ बिन्दुमा झरेको नेप्सेले जनाएको छ ।
बीमाका लगानीकर्ताले सर्वाधिक गुमाए
सन् २०२२ कुनैपनि क्षेत्रका सेयरमा लगानी गर्ने लगानीकर्ताका लागि सुखद रहेन । यो वर्ष सबै सबै उपसमुहगत सूचकमा बढोत्तरी हुन सकेन । यो वर्ष न्यूनतम ५ देखि ३० प्रतिशतसम्मले इन्डेक्स घट्न पुगेको हो ।
नेप्सेको तथ्याङ्क अनुसार यो वर्ष बीमा कम्पनीको सूचक सर्वाधिक घटेको छ । जीवन बीमाको इन्डेक्स २९.०६ प्रतिशतले घट्दा त्यसलाई पच्छ्याउँदै निर्जीवन बीमाको इन्डेक्स पनि २८.५६ प्रतिशतले घट्न पुगेको हो । वर्षको सुरुवातमा १४ हजार २१० रहेको जीवन बीमाको इन्डेक्स वर्षका अन्त्यसम्म आइपुग्दा ४ हजार १३० बिन्दुले घटेर १० हजार ८० बिन्दुमा झरेको हो । यस्तै निर्जीवन बीमाको इन्डेक्स पनि ३ हजार ३१५ अंकले घटेर ८ हजा २९४ अंकमा संकुचित बनेको छ ।
समीक्षा अवधिमा ब्यापार उपसमुहगत सूचकमा २५.८३ प्रतिशत गिरावट आउँदा उत्पादन तथा प्रशोधनमुलक २४.०४ प्रतिशत, अन्य २०.२३ प्रतिशत र लगानी २०.१७ प्रतिशतले घटेका छन् । यसैगरी बैंकिङ्ग क्षेत्रको सूचक १९.७६ प्रतिशत, हाइड्रोपावर १८.२० प्रतिशत, फाइनान्स १७.३६ प्रतिशत, विकास बैंक १४.८० प्रतिशत, लघुवित्त ८.२९ प्रतिशत र म्युचुअल फन्ड ८.१० प्रतिशतले घटेको छ ।
नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा कम होटल तथा पर्यटनमुलक भने सबैभन्दा कम ५.०५ प्रतिशतले घटेको छ । वर्षको सुरुमा ३०२३ बिन्दुमा रहेको इन्डेक्स अन्त्यमा आइपुग्दा २८७० अंकमा झरेको नेप्सेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया