अंग्रजी नयाँ वर्षको आगमनसँगै पर्यटनमा क्षेत्रमा छायो उत्साह

0
Shares

नयाँ वर्ष सन् २०२३० को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ ।

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्रमा चहलपहल र गतिविधि बढेको बताए । “नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटनमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकको चाप छ । ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटार लगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।”

होटलको बुकिङ पनि उत्साहवद्र्धक रहेको उपाध्यक्ष शाहको भनाइ छ । सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ । चिनियाँ पर्यटक आउने वातावरण बनेको खण्डमा विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । सरकारी तथ्याङ्कमा मुलुकभर एक हजार एक सय होटल छन् । हानको विवरणमा सबैखाले होटल गरी ४ हजार छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले महामारीपछिको पर्यटनलाई पुनरुत्थानको गतिमा हौसला प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्छन् । “नयाँ वर्षको बहारसँगै पर्यटन क्षेत्रमा यसले सकारात्मक उत्साह जगाएको छ”, उनले भने, “आन्तरिक मात्र हैन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ । सन् २०२३ नेपालसहित विश्व्यापी रुपमै घुमफिर वर्ष नै हुन्छ होला ।” पछिल्लो समय विदेशी पर्यटक आगमन दरलाई हेर्दा विदेशी पर्यटक निकै बढ्ने अनुमान गरिएको अध्यक्ष बास्तोलाले बताए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को ११ महिनामा ५ लाख ४६ हजार ३४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजारमा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा १ लाख ५० हजार ९०० पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४.०४ प्रतिशतले कमी हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको उल्लेख गर्दै पर्यटक आगमनको आँकडाले पर्यटन पुनरुत्थानको दिशातर्फ उन्मुख रहेको बताए । उनले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ६५ देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको बताए ।

महामारीका कारण सन् २०२१ मा १४ प्रतिशत र सन् २०२० मा १८ प्रतिशत मात्रै पुनरुत्थान भएको पर्यटन क्षेत्र आगामी दिनमा सकारात्मक हुने अपेक्षा गरिएको उनले उल्लेख गरे । “हामी (पर्यटन क्षेत्र) लयमा फर्किरहेका छौँ । यो वर्ष ७० प्रतिशत पुनरुत्थान हुने अपेक्षा गरिएको छ । नयाँ वर्ष लगायत ठू-ठूला ‘इभेन्ट’ ले पर्यटन बढोत्तरीमा टेवा पुग्छ । सबै हिसाबले पर्यटन क्षेत्र सकारात्मक दिशातर्फ उन्मुख छ”, निर्देशक लामिछानेले भने । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि नयाँ वर्षसँगै सञ्चालनमा आउन लागेकाले मुलुकमा तीनवटा अन्तर्राष्ट्रियस्तरका विमानस्थल भएपछि विदेशी पर्यटक बढ्ने नै छ । उनले भने ।

स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ ठमेलमा नयाँ वर्षमा आयोजना हुने महोत्सवले छुट्टै रौनकता ल्याएको छ । पर्यटकीय नगरी पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत गन्तव्य पाहुनाले भरिभराउ छन् । पर्यटकीय नगरी चितवनको सौराहामा पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अघिल्लो वर्षजस्तो यो वर्ष बुकिङ राम्रो छैन । उनले भने, “दसैँ, तिहार, क्रिसमस लगायत पर्वलाई हेर्दा अघिल्लो वर्षजस्तो उत्साहजनक आगमन छैन तर पनि आशावादी छौँ राम्रै हुन्छ होला ।”

अध्यक्ष भट्टराईले कोभिड महामारीपूर्व विदेशी पर्यटकले भरिएर होटलमा कोठा समेत नपाउने अवस्था हुन्थ्यो तर अघिल्लो वर्ष करिब ८० प्रतिशत होटल बुकिङ रहेकामा यो पटक भने बुकिङ राम्रो नभएको बताए । कोभिडपूर्व सौराहामा स्वदेशी र बाह्य गरी वार्षिक अढाई लाख पर्यटक पुग्ने गरेका थिए । यो वर्ष करिब ६५ हजार पुग्ने अनुमान गरिएको छ । सौराहामा १२० होटल छन् । दैनिक १० हजार यात्रुलाई धान्ने क्षमता रहेको छ ।
ठमेलमा सडक महोत्सव
नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भोलि पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले कोेरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थानका लागि नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

“ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नारासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ”, उनले भने । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ ।

पोखरा सडक महोत्सव

यही अवसरमा पर्यटकीय नगरी पोखरामा सडक महोत्सव चलिरहेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म महोत्सव आयोजना हुनेछ ।

रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराले पाँचदिने महोत्सवमा आयोजना गरेको हो । रेवान पोखराका अध्यक्ष अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्छन् । नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने गरेका छन् । साथै महोत्सवका अवसरमा होटलहरूले कोठामा २० प्रतिशत छुट दिएका छन् ।

महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेस लगायतका कार्यक्रम गरिएको छ । सडक महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७९, शुक्रबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।