कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् ।
तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी भएको थियो ।
मृतकका बुबा एवं विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२ औं तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको बताए । बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरासँग सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।
थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ । हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो । आगलागी सुरु भइसकेपछि करिब ४ घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२ औं तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए । परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए ।
घटनामा उद्धारको प्रयास नभएपछि बाँच्नका लागि हामफाल्दा निराकारको ज्यान गएको पाण्डेले बताए । घटना भएका बेला मृतकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौँस्थित निवासमा थिइन् ।
“बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, “राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।”
कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उनले बताए ।
शोकाकुल बन्यो विर्तामोड
युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागीबाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापामा रहेका मृतकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौँ गएका छन् । काठमाडौँमा मृतककी आमा र अरू भाइहरु रहेका छन् ।
झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपतका बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हामफाल्नु प¥यो,” उनले भने, “बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो ।”
सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए । मृतक सङ्गीतकार थापाका छिमेकी थिए । “सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ,” थापाले भने, “भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्तब्ध बनाएको छ ।रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया