१६७ वर्षपछि मेटियो क्रेडिट स्वीस बैंकको अस्तित्व, युबीएसले किन्ने


विश्व बैकिङ क्षेत्रमा १६७ वर्ष योगदान पुर्याएको क्रेडिट स्वीस बैंक संकटग्रस्त अवस्थामा पुगेपछि युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस) ले अधिग्रहण गरेको छ ।

अन्तराष्ट्रिय बैंकिङ प्रणालीमा योगदान पुर्याउने ३० बैंकहरुको सूचीमा पर्ने क्रेडिट स्वीस टाट पल्टिने अवस्थामा पुगेपछि स्वीस सरकारले ५४ अर्ब डलर सहयोग गरी हस्तक्षेप गरेको थियो ।

सरकारले गरेको उक्त सहयोग पर्याप्त नभएपछि अन्तराष्ट्रिय बैंकिङ प्रणालीमा समस्या उत्पन्न हुन नदिन स्वीस सरकारले आपत्कालीन बैठक घोषणा गरेको थियो । बैठक पछि क्रेडिट स्वीस बैंकलाई स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक युबीएसले अधिग्रहण गर्ने भएको हो ।

सन् १८५६ मा स्थापना भएको क्रेडिट स्वीस बैंकले विश्वभरका धनाढ्य मानिसहरुको निक्षेप संकलन गर्ने गरेको छ । विभिन्न समयमा मनी लन्ड्रीङका कारण विवादमा आइरहने बैंकले सन् २०२२ मा मात्रै ७ अर्ब ९० करोड अमेरिकी डलर गुमाएको थियो । हालै बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा बैंकमा ठूलो मात्रामा घोटाला भएको थाहा भएपछि लगानीकर्ताहरुले बैंकको सेयर तीव्र गतिमा बिक्री गरेका थिए ।

बैंक स्वायत रुपमा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि बैंक अधिग्रहणको विषय अघि बढेको थियो । युबीएस बैंकले ३ अर्ब २० करोड अमेरिकी डलरमा बैंक खरिद गर्ने भएको हो । सन् २०२३ को मार्च १७ सम्ममा क्रेडिट स्वीस बैंकको नेटवर्थ ६ अर्ब २६ करोड अमेरिकी डलर थियो । विगत ३ दिनमा बैंकको सेयर मूल्यमा आएको गिरावटका कारण बैंकको अस्तित्व मेटिन पुगेको छ ।

सोमबार मात्रै क्रेडिट स्वीस बैंकको सेयर मूल्य ६० प्रतिशतले घटेको छ । युबीएसले क्रेडिट स्वीस अधिग्रहण गर्ने निर्णय गरेपछि युबीएसको सेयर मूल्य समेत ७ प्रतिशतले घटेको छ । स्वीजरल्यान्डमा सुरु भएको बैंकिङ संकटका कारण युरोपियन युनियनका अन्य बैंकहरुको पनि सेयर मूल्यमा भारी गिरावट आएको छ ।

युरोपियन सेयर सूचकांक स्टक्स युरोप ६०० सोमबारको प्रि–ओपनिङ मै ३ प्रतिशतले ओरालो लागेको छ भने बेलायतका नाटवेस्ट, बारक्लेज, स्ट्यान्र्डड च्याटर्डड बैंकको सेयर मूल्य पनि ७ प्रतिशत र एचएसबीसी र एललोइड्सको सेयर मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ ।

क्रेडिट स्वीस बैंकको अस्तित्व नामेट हुँदा सबैभन्दा धेरै प्रभावित एटी १ बन्डमा लगानी गर्ने लगानीकर्ताहरु प्रभावित भएका छन् । १७ अर्ब २४ करोड अमेरिकी डलर बराबरको बन्डमा लगानीकर्ताहरुले लगानी गरेका थिए । जुन अहिले शून्यको अवस्थामा पुगेको छ ।

हालै अमेरिकामा सिलिकन भ्याली र सिगनेचर बैंक टाट पल्टिएका छन् । स्वीजरल्यान्डमा १६७ वर्ष लामो इतिहास भएको ब्रेडिट स्वीस बैंकको अस्तित्व नामेट भएको छ । ‘टु बिग टु फेल’ को सूचीमा पर्ने बैंकहरु कोल्याप्स हुँदै जाँदा विश्वव्यापी रुपमा बैंकिङ क्षेत्र नै अस्थीर हुन पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।