असारको अन्तिम सातासम्म कोशी प्रदेशमा २९ प्रतिशत मात्र धान रोपाई


काठमाडौँ । असारको अन्तिम सातासम्म पनि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार गत वर्ष असारको २१ गतेसम्म ३४.४३ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष भने २९.५४ प्रतिशत मात्र धान रोपाइ भएको हो ।

गत वर्षको तुलनामा लगभग ५ प्रतिशत कम रोपाइँ भएको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी मध्य पहाडमा ४१.८७ प्रतिशत धान रोपाई भएको छ । मध्य पहाडमा यसवर्ष ६७ हजार ७१७ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुमान गरेकोमा २८ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो । यो वर्ष समयमा वर्षा परेको हुनाले रोपाई छिटो भएको निर्देशनालयले बताएको छ ।

त्यस्तै उच्च पहाडमा १५ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने अनुमान गरिएकोमा ३ हजार ९२२ हेक्टर क्षेत्रफलमा अर्थात् २५.५० प्रतिशत मात्र धान रोपाइ भएको छ भने तराईमा १ लाख ९८ हजार २८५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान गरेकोमा ४९ हजार ३६० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । कुल धान रोपाई हुने क्षेत्रफलको २५.५४ प्रतिशत मात्र धान रोपाई भएको हो । यी क्षेत्रहरुमा कम पानी परेर रोपाई कम भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, जिल्लाको अन्तर्गत सबैभन्दा बढी पाँचथरमा ५९ प्रतिशत धान रोपाइ भएको छ । भोजपुरमा ५८ प्रतिशत, खोटाङमा ५६.९८ प्रतिशत, ओखलढुङ्गामा ४२.८८ प्रतिशत, तेह्रथुममा ३३ प्रतिशत र उदयपुरमा ३१.६२ प्रतिशत धान रोपाई भएको छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।