खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ४ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

उक्त विद्यालयको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ३२ लाख अनुदान र विद्यालय सुधार क्षेत्र कार्यक्रमबाट २४ लाख रुपैयाँ गरी ४५ लाख १० हजार ८९२ रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो ।

अनुसन्धानका क्रममा सम्झौता, लागत इष्टिमेट र नक्साअनुसार काम नभएको, कम गुणस्तरका सामग्री प्रयोग, प्लास्टर र भुइँ चर्किएको, रड बाहिर देखिने गरी ढलान भएको, सिलिङ र बिम बाङ्गिएको देखिनुका साथै भवन पठनपाठन गर्न अयोग्य र जोखिमयुक्त रहेको पाइएको थियो ।

आयोगले चापागाईसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद भट्टराई, लेखा अधिकृत भुवन प्रसाद आचार्य, लेखापाल सुरेश कुमार श्रेष्ठ,सब इन्जिनियर शिबराज राई, जनता उच्च माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक हेम्बर बस्नेत, विव्यस अध्यक्ष दिलिप कुमार राई÷चर्च बहादुर विश्वकर्मा र विद्यालय भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राइलाई प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।