इङ्वा हाइड्रोपावरको आईपीओ मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

इङ्वा हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।

कम्पनीको संस्थापक र साधारण सेयर गरी प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सोमबार सूचीकृत सम्झौता सम्पन्न भएको हो । यससँगै मंगलबारदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेप्सेले दोस्रो बजारमा कारोबारका लागि कारोबार आईएचएल (IHL) कारोबार संकेत दिएको छ । यस्तै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको कारोबार रेञ्ज दिएको छ ।मंगलबार यही कारोबार रेञ्जभित्र कम्पनीको सेयर कारोबार सुचारु हुनेछ ।

कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणमा चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुका लागि र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको चुक्ता पुँजीको ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर गरी कुल ६० लाख सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार ३ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो । कम्पनीले सर्वसाधारणमा बैशाख १३ देखि १७ गतेसम्म आईपीओ जारी गरी बैशाख २७ गते बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ १ लाख २६ हजार ८६३ जनाले गोलाप्रथबाट १० कित्ताका दरले प्राप्त गरेका छन् ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, थापाथली रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने सेयर रजिष्ट्रार सम्बन्धी सेवा इङ्वा हाईड्रोपावर लिमिटेड थापाथली काठमाडौंबाट हुने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।