घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय


घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयरमा लगानीकर्ताले आवेदन सच्याउन पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले निष्काशनमा देखिएका कैफियतका सम्बन्धमा अनुसन्धानलाई निरन्तरता दिँदै आर्थिक वर्ष समाप्तिको अवस्थालाई हेरेर थप ३ दिन भित्र सबै आवेदकले आवेदन रद्ध गर्न वा विद्यमान आवेदनलाई निरन्तरता दिन सक्ने व्यवस्था गरेको हो ।

३ दिन भित्र सबै आवेदकले आवेदन संशोधन वा रद्ध गरिसकेपछि थप ७ दिन सेयर निष्काशन गर्न दिने निर्णय पनि बोर्डले गरेको छ । सेयर बिक्री नभएको अवस्थामा १५ दिनसम्म सेयर निष्काशन गर्न सक्ने यस अघिको व्यवस्था अनुसार ३ दिन आवेदन सच्याउन र सो पश्चात थप ७ दिन सेयर निष्काशन गर्न दिने निर्णय गरिएको बोर्डले जनाएको छ ।

गत जेठ ३२ देखि असार ४ गतेसम्म ५ दिन निष्काशन भईसकेको अवधिलाई जोडेर यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । आवेदन संशोधन गर्ने सम्बन्धमा बिक्री प्रबन्धकले सूचना सार्वजनिक गरेपछि ३ दिनको समय दिनुपर्ने व्यवस्था गरिएको हो ।

हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्ट बैंकिंगले संयुक्त रुपमा कम्पनीको सेयर निष्काशन गरेका थिए । वैदेशिक रोजगारीमा गएका तथा आयोजना प्रभावितका लागि निष्काशन भएको सेयरको सम्बन्धमा भने बाँडफाँड भईसकेको भन्दै उनीहरुले आवेदनमा संशोधन गर्न नपाउने बोर्डले निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।