सन नेपाल लाइफको आईपीओमा ६ हजार ८०० बढी आवेदन रद्द

0
Shares

शुक्रबार बाँडफाँड भएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा परेको ६ हजार ८०१ वटा आवेदन रद्द भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार रितपुर्वक नपरेका आवेदन रद्द गरिएको हो ।

सन नेपालको आईपीओ खरिदका लागि कुल १४ लाख ६६ हजार ८६२ वटा आवेदन परेकोमा ८ हजार ८०१ वटा आवेदन रद्द भएको हो । रद्द भएका आवेदनबाट १ लाख ५ हजार ३७० कित्ता खरिदको माग परेको थियो । कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ताको माग परेकोमा १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सदर भएको हो ।

कसको कति भयो रद्द ?

वैदेशिक रोजगारीमा गएकाहरुबाट परेको ५ हजार ४३७ वटा आवेदन मार्फत माग भएको ८७ हजार ५४० कित्ता

सि–आश्वा प्रणालीबाट १ हजार ३४१ वटा आवेदन मार्फत माग भएको १६ हजार २५० कित्ता

सन नेपाल लाइफ इन्स्योरेन्सको संस्थापकबाट परेको १२ वटा आवेदन मार्फत माग भएको १ हजार ४७० कित्ता

कर्मचारीबाट ११ वटा आवेदन मार्फत माग भएको ११० कित्ता

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र ७ लाख ६८ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए । सदर आवेदनमध्ये नै ६ लाख ९२ हजार ६१ जनाको हात खाली भएको थियो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो । त्यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार, कर्मचारीहरुका लागि ४ लाख ८० हजार र म्युचुअल फन्डलाई ४ लाख ८० हजार कित्ता बाँडफाँड गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।