कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आज ( पुस १७ गते आइतबार) देखि एकीकृत कारोबार थालेका छन् । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
नेपाल राष्ट्र बैंक र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकीकृत कारोबारका लागि अनुमति पाएसँगै दुई बैंकको संयुक्त कारोबारको मिति पुस १७ गते जुरेको थियो ।
एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस ८ गते शुक्रबार मर्जर सम्बन्धमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड गाभिने अन्तिम दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु गाभ्ने संस्था कुमारी बैंक लिमिटेडले व्यहोर्ने–सकार्ने गरी गाभ्ने गाभिने (मर्जर) को लागि स्वीकृति प्राप्त भएको थियो । त्यस्तै नियामक निकाय नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकीकृत कारोबारका लागि दुबै बैंकलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

त्यस्तै यसअघि मंसिर २५ गते सम्पन्न दुबै बैंकको छुट्टाछुट्टै विशेष साधारण सभा मार्फत १ बराबर १ सेयर स्वाप रेसियोमा एक आपसमा मर्जर हुने प्रस्ताव पारित गरेका थिए । एकीकृत बैंक “कुमारी बैंक लिमिटेड” को रजिष्टर्ड (केन्द्रीय) कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नम्बर ०२ टंगालमा रहेको छ । मर्जर भएपश्चात् एकीकृत बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ५६ लाख रुपैयाँ पुगेको छ ।
कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ छ । एनसिसी बैंकले चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँबाट गत आवको मुनाफाबाट ३.३७ प्रतिशत (३७ करोड ५० लाख) बोनस वितरणपछि ११ अर्ब ५१ करोड ४६ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी पुगेको थियाे ।
एकीकृत बैंकको निक्षेप ३ खर्ब २ अर्बभन्दा बढी र कर्जा २ खर्ब ८० अर्ब बढी हुनेछ । यस्तै शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुगेको छ । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बनेका छन् । यस्तै कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।
सञ्चालक समिति गठन
मर्जरपछि कुमारी बैंकमा नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा चयन भएका छन् । यस्तै बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् ।
कुमारी बैंक बन्यो ११ संस्थाको साझा चौतारी

अंग्रजी नयाँ वर्ष सन् २०२३ को दिन “कुमारी बैंक लिमिटेड” कुल ११ संस्थाको साझा चौतारी बनेको छ । कुमारी बैंकमा हालसम्म अन्य दश वटा संस्था विलय भएका छन् ।
कुमारी बैंकले यसअघि चार विकास बैंक र एक फाइनान्स गरी पाँच कम्पनीलाई आफुमा विलिन गराएर एकीकृत कारोबार थालेको थियो । यस्तै एनसीसी बैंकले पनि चारवटा विकास बैंकलाई आफूमा बिलिन गराएको थियो ।
यसअघि कुमारी बैंकले देःव विकास बैंकलाई गाभेको थियो । बैंकले २०७७ जेठ ३० गतेदेखि देःव विकास बैंकलाई गाभेर एकीकृत कारोबार थालेको थियो । सोभन्दा अघि कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, कांक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई गाभेर २०७४ असार १२ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।
यस्तै कुमारीमा विलय भएको एनसीसी बैंकले पनि यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर २०७३ पुस १७ गतेदेखि एकीकृत कारोबार थालेको थियो । सो समयमा नेपाल राष्ट्र बैंकले एनसीसी बैंकको व्यवस्थापन सम्हालेको थियो ।
राष्ट्र बैंकको पहलमा सो समयमा कुमारी बैंकलाई समेत मर्जर प्रकृमा सामेल गराउने गरी २०७२ पुसमा विग मर्जर सम्पन्न गर्ने प्रारम्भिक सम्झौता भएको थियो । यसरी पाँच बैंक तथा वित्तीय संस्था मिल्ने समझदारी बनेपनि पछि कुमारी बैंकले एनसीसी बैंकसँगैको मर्जर प्रस्ताव अस्वीकृत गर्दै अलग्गिएको थियो । कुमारी बैंकको २०७३ असार ३१ गते शुक्रबारको साधारण सभाबाट मर्जर प्रस्ताव अस्वीकृत भएको थियो । ७५ प्रतिशत सेयरधनीको सहमति चाहिनेमा सो समयमा ५० प्रतिशत सेयरधनीले मात्रै मर्जरको पक्षमा मतदान गरेका थिए ।
मर्जर अस्वीकार गरेको ६ वर्षपछि पुनः दुई संस्थाहरु एकीकृत भई २०७९ पुस १७ गतेदेखि एकीकृत कारोबार थालेका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया