तीन प्रतिशत पनि पूरा भएन सडक निर्माणको काम

0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लक्ष्य गरे अनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा तीन प्रतिशत पनि काम पूरा हुन सकेको छैन ।

मन्त्रालयको तथ्यांक अनुसार सरकारले चालु आवको पहिलो त्रैमास अवधिमा २१५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिसम्ममा जम्मा ३८ किलोमिटर मात्रै कालोपत्रे सडक निर्माण भएको मन्त्रालयले जनाएको छ । चालु आव भित्रमा सरकारले एक हजार ५१६ सडक कालोपत्रे बनाउने लक्ष्य लिएको छ ।

त्यस्तै पूर्वाधार मन्त्रालयले चालु आवको पहिलो त्रैमास अवधिमा १३८ किलोमिटर सडक ग्रावेल स्तरको बनाउने लक्ष्य राखेकोमा जम्मा ४४ किलोमिटर सडक मात्रै ग्रावेल स्तरको बनाउन सफल भएको छ । यो भनेको लक्ष्य अनुसारको करिब ७ प्रतिशत मात्रै हो । चालु आवमा भने सरकारले एक हजार किलोमिटर सडक ग्रावेल स्तरको बनाउने लक्ष्य राखेको छ ।

चालु आवमा सरकारले ५०० किलोमिटर सडक माटे सडक बनाउने लक्ष्य लिएकोे छ भने पहिलो त्रैमासिक अवधिमा १८१ किलोमिटर माटे सडक बनाउने लक्ष्य राखेको छ । तर, सडक विभागले ४० किलोमिटर मात्रै माटे सडक बनाएको छ । त्यस्तै, सरकारले चालु आवमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ । पहिलो त्रैमास अवधिमा ६१ वटा पुल निर्माण गर्ने लक्ष्य राखेकोमा सरकारले ११ वटा मात्रै पुल निर्माण गर्न सफल भएको छ ।

त्यस्तै मन्त्रालयले सिद्धबाबा सुरुङमार्गको ईपिसि मोडेलमा ठेक्का सम्झौता भई निर्माण व्यवसायीद्धारा टनेल डिजाइनको काम भै रहेको जनाएको छ । नागढुंगा सुरुगंमार्गको कुल सुरुङ लम्बाइ ५५९९ मध्ये ३७०० मिटर सम्पन्न भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।