कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ।
साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको सहायक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम तीब्र गतिमा भइरहेको जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट आगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको रावतले बताए ।
काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।
उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ शेयरधनी पुगेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया