प्रतिनिधि सभाको बैठक आज बस्दै

0
Shares

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३ औं अधिवेशन सुरु हुनेछ ।

दुबै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधि सभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्नेछन् । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार सात जना सदस्य चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई/दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ ।

नेपालको संविधान अनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधि सभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उप-सभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् ।

बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले) का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार  १० : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।