अपि पावरले आयोजनाहरूको ऋण चुक्ता गर्न बोनसपछि ४० प्रतिशत हकप्रद बेच्ने

0
Shares

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको बोनस सेयरपछि सेयरधनीबाट हकप्रद मार्फत १ अर्ब ६५ करोड रुपैयाँ पुँजी उठाउने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित साढे ७ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको माघ २ गते अपरान्ह ३ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

कम्पनीले निर्माण गरेको विभिन्न पाँच वटा आयोजनामा भएको ऋण लगानीको रकम चुक्ता गर्न कम्पनीले एक अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० मूल्यको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०७८/७९ बाट चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजारको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस सेयर वितरणका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । हकप्रद निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाबाट पारित गराउनुपर्छ । साधारण सभाबाट पारित भएपछि दोस्रो चरणमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिएर मात्र हकप्रद बिक्री गर्न पाइन्छ । कम्पनीको सञ्चालक समितिको बैठकले पनि सबै प्रक्रिया पूरा गरेर सेयरधनीहरूबाट १ः०.४० को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।सबै प्रक्रिया पूरा गर्न कम्पनीलाइ कम्तिमा पनि चार महिना लाग्नेछ ।

अपि पावरले निर्माण गरेको ८.५० मेगावाट क्षमताको नौगाढ जलविद्युत आयोजनाको ३२ करोड २९ लाख ९० हजार, ८ मेगावाट क्षमताको अप्पर नौगाढ जलविद्युत आयोजनाको १ अर्ब ५ करोड ८८ लाख ५० हजार, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको २१ करोड ६५ लाख ८३ हजार , १ मेगावाटको ढल्केवर सौर्य विद्युत आयोजनाको ४ करोड ४३ लाख ५० हजार, र १ मेगावाटको ढल्केवर सौर्य विद्युत आयोजनाको ४ करोड २८ लाख गरी कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ऋण लगानी रहेको छ । नेपाल एसबिआई बैंक र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई) बैंकको अगुवाइमा ती आयोजनाहरुमा ऋण लगानी गरिएको छ ।

हाल अपि पावरको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । चुक्ता पूँजीको ४० प्रतिशतका दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ८९६ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।