राष्ट्रिय वाणिज्य बैंक ५८ वर्षमा प्रवेश, २५ लाखको चुक्ता पुँजी बन्यो १५ अर्ब

0
Shares

राष्ट्रिय वाणिज्य बैंक ५८ औं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंकपछि देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यस बैंकको स्थापना भएको थियो ।

नेपाल सरकारको १ करोड अधिकृत सेयर पुँजी तथा २५ लाख चुक्ता सेयर पुँजी लगानीमा बैंक स्थापना भएको थियो । स्थापनाको ५८ औं वर्षको अवधिमा बैंकले बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ ।

हालसम्म आइपुग्दा बैंकले सर्वसाधारण तथा संस्थागत गरी ४० लाख बढी निक्षेपकर्ताहरुबाट पुस मसान्तसम्म २ खर्ब ८२ अर्ब निक्षेप परिचालन गरेको छ । साथै यस अवधिसम्म बैंकले २ खर्ब ३५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । कुनै बेला खराब कर्जाले थलिएर कुल कर्जाको ६० प्रतिशतभन्दा बढी पुगेकोमा त्यसमा बैंकले उत्कृष्ट सुधार गर्दै २०७/८० को दोस्रो त्रैमाससम्म बैंकको निष्कृय कर्जा अनुपात २ .७९ प्रतिशतमा झारेको छ ।

‘तपाईंको आफ्नै बैंक’ भन्ने मूल नारा बोकेको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता सेयर पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९८ रुपैयाँ रहेको छ । बैंकले तयार गरेको पुँजी वृद्धि योजना २०७८ अनुरुप नेपाल सरकारबाट सेयर लगानी बापत थप २ अर्ब प्राप्त भई बोनस सेयर वितरणपछि सो पुँजी कायम भएको हो । बैंकको सेयरधनी कोषमा १८ अर्ब ७० करोड ७० लाख रुपैयाँ मौज्दात रहेको बैंकले जनाएको छ ।

बैंकले कुल २६५ वटा शाखा कार्यालय, २६६ वटा एटिएम मार्फत ४० लाख धेरै ग्राहकलाई सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकमा ४ हजार २४ जनाले रोजगारी पाएका छन् । बैंकको मोबाइल प्रयोगकर्ता १५ लाख रहेका छन् ।

तत्कालीन अवस्थामा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ । राष्ट्रिय वाणिज्य बैंक लामो अवधिसम्म पूर्ण सरकारी स्वामित्वमा सञ्चालन रहँदै आएको थियो । २०७५ वैशाख १८ गते एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएपछि बैंकमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारण सेयरधनीको ०.०३ प्रतिशत सेयर स्वामित्व कायम छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ७१ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । गत आवको मुनाफाबाट सेयरधनीहरुलाई सोही आर्थिक वर्षमा ५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद गरी १२.५० प्रतिशत लाभांश वितरण गरेको छ । पुस २८ गते सम्पन्न बैंकको १७ औं वार्षिक साधारण सभाबाट सो लाभांश अनुमोदन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० माघ २०७९, मंगलबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।