दाङ फिड उद्योगको आम्दानीमा आकर्षक बढोत्तरी, ३० प्रतिशतले बढ्यो

0
Shares

दाङ फिड उद्योगले सन् २०२२ मा २ अर्ब २५ करोड ४० लाख बराबरको कारोबार गरेको छ ।  उक्त आम्दानी सन् २०२१ को त्ुलनामा ३० प्रतिशतले बढेको हो । सन् २०२१ मा उद्योगले १ अर्ब ७३ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो ।

आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचाङ्क पनि बलियो देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा कम्पनीको सञ्चालन आम्दानीको ९ प्रतिशत रहेको छ । यसैगरी कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल कर्जाको ५.७१ प्रतिशत रहेको छ ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले कुखुराको दाना, बंगुरको दाना, माछाको दाना लगायत अन्य पशु चौपायाको दाना उत्पादन गर्दै आएको छ । पशु चौपायाहरुको दानालाई कम्पनीले प्रि–स्टाटर, स्टाटर, ग्रोअर र फाइनल गरी चार प्रकारमा विभाजन गरेको छ । “खुराक” ब्रान्डनामबाट कम्पनीले दानाको बिक्री वितरण गर्दै आएको छ ।

उद्योगको उत्पादन क्षमता प्रति वर्ष ३६ हजार मेट्रिक टन रहेको छ । तथापी उद्योग पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सकेको छैन । सन् २०२२ मा उद्योगले कुल क्षमताको ९० प्रतिशत मात्रै उत्पादन गरेको छ । कच्चा पदार्थको आयात र मौसम परिवर्तनका कारण मकै र सोयाबिनको उत्पादनमा कमी आउँदा उद्योगले अपेक्षाकृत आम्दानी गर्न सकेको छैन ।

तथापी उद्योगले स्थापनाको समयदेखि नै राम्रो आम्दानी गरेका कारण आगामी समयमा पनि राम्रो आम्दानी हुने देखिन्छ । नेपालको ग्रामीण क्षेत्रमा पोल्ट्री, गाईफार्म, माछा पालन जस्ता पेशा अपनाउने मानिसहरुको वृद्धि भएकोले दानाको माग स्थीर रहने देखिन्छ ।

उद्योगले ५८ करोड ६८ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ‘डबल बी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘ए–४ प्लस रेटिङ’ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।