पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बेथेतिले लगानीकर्ता त्रसिद बनेका छन् । जसले पछिल्लो दुई दिनमा मात्रै बजार सूचक ५७ अंकले घटेको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रमुख रमेश कुमार हमालमाथि प्राथमिक सेयर (आईपीओ), ऋणापत्र, डिबेञ्चर, म्युचुअल फन्ड लगायतका सार्वजनिक निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोपपछि सेयर बजारमा दुई दिनमा नेप्से ५७ अंकले घटेको हो । सोमबार ४१ अंक तथा मंगलबार करिब १६ अंकले नेप्से घटेको हो । यसअघि आइतबार पनि बजार दोहोरो अंकले घटेको थियो ।
बोर्डका अध्यक्ष लेनदेन आरोपपछि उनलाई अर्थ मन्त्रालयले मौखिक स्पष्टीकरण समेत सोधेको छ । अर्थसचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमालसँग स्पष्टीकरण सोधेका थिए । हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने समेत बताइएको छ ।
यसअघि पनि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा बर्खास्त भएका थिए । बुक बिल्डिङ्गबाट पहिलो पटक सेयर जारी गर्न लागकोे सर्वोत्तम सिमेन्टको संस्थापक सेयर उनले आफ्नो छोरीको नाममा खरिद गरेपछि उनलाई सरकारले छानबिन समिति बनाएर बर्खास्त गरेको थियो ।
त्यसपछि गत वर्ष मात्रै २ वर्षे कार्यकालका लागि नियुक्त भएका हमाल एक वर्षमा नै विवादमा तानिएपछि लगानीकर्ताको मनोबल कमजोर बनेका हुन् । बजारका विकृति तथा विसंगति उपर अनुसन्धान गरी कारवाही गर्नुपर्ने नियामक निकायका प्रमुख नै पटक पटक छानबिनको दायरामा समेटिएपछिट लगानीकर्तामा बजारप्रतिको विश्वास घटेको हो ।
नेप्सेका अनुसार मंगलबार बजार सूचक १५.७० अंकले घटेर २१११.६८ अंकमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेको छ ।
यसदिन २५९ कम्पनीका ७५ लाख ५३ हजार २३५ कित्ता सेयर ५३ हजार ८७८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरमा समेटिएको छ । हिजो ३ अर्ब ३० करोड माथिको खरिद बिक्री भएकोमा कारोबार रकम ४८ करोडले कारोबार घटेको हो ।

आज रिडी पावरको सर्वाधिक १९ करोड २० करोड ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनीको १४ करोड ३७ लाख, गुराँस लाइफ इन्स्योरेन्सको ७ करोड ६७ लाख, एनआईसी एशिया बैंकको ७ करोड ११ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
आदर्श लघुवित्तको सेयर मूल्यमा आज १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर मूल्य १४४.९० रुपैयाँ बढेर १५९४ रुपैयाँ २० पैसा पुगेको छ । सूचक घटेपनि बाराही हाइड्रोपावर कम्पनीका सेयरधनीले आजको बजारबाट ७.३७ प्रतिशत, लुम्बिनी जनरल ६.२०, इष्टर्न हाइड्रोपावरको ५.८६ र पिपल्स हाइड्रोपावर कम्पनीको ४.६३ प्रतिशतले कमाएका छन् ।
उता आजको बजारबाट प्राइम लाइफको सेयरमूल्य ५.२८ प्रतिशतले घटेको छ । यस्तै लाभांशमा चित्त नबुझाउँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ४.९७, गणपति लघुवित्त ४.४६, सगरमाथा इन्स्योेन्स ४.३०, नेरुडे लघुवित्त ४.०९, नबिल ब्यालेन्स्ड फन्ड–३ को इकाईमूल्य ४.०६ र सिद्धार्थ इक्वीटी फन्डको इकाईमूल्य ४ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया