नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन आग्रह गरेको छ ।
समितिले धादिङ्ग र चिवनका स्थानीय निकायहरुमा आयोजना गरेको बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गाउँपालिकाका प्रमुख तथा बीमा कम्पनीहरुलाई घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन आग्रह गरेका हुन्।
गजुरी गाउँपालिकामा आज आयोजित बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पौडेलले आर्थिक रूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्न आग्रह गरे । यस्तै बीमा कम्पनीहरुको शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न समेत उनले निर्देशन दिएका हुन्।
उनले अन्तरक्रियामा न्यून आय भएका वर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरे । पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिनका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिए।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नै गर्नुपर्ने बताए ।
यसैगरी, नेपाल बीमा प्राधिकरणको आयोजनामा माघ १८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्थानीय बासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्ने जानकारी दिए । सो कार्यक्रममा पनि कार्यकारी निर्देशक पौडेलले घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन र शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न आग्रह गरे ।










प्रतिक्रिया