ओरालो नेप्सेले लगानीकर्तामा निराशा‚ सूचक २१ सय बिन्दुबाट झर्‍यो

0
Shares

सेयर बजार सूचक पुनः २ हजार १०० बिन्दुबाट तल झरेको छ । पुँजी बजारको नियामक निकायका प्रमुख नै रकम लेनदेनमा आरोपीत भएपछि लगानीकर्तामा बजारप्रतिको मनोबल खस्किएको हो ।

लगातार चार कारोबार दिनको ७२ अंकको गिरावटपछि बुधबार बजार करिब ५ अंकले बढेपछि बजार थप नघट्ने आशमा लगानीकर्ता रहेका थिए । तर साताको अन्तिम दिन बिहीबार २२.१४ अंकले घटेपछि बजारप्रति लगानीकर्ता थप सशंकित बनेका हुन् ।

बिहीबार पुनः बजारमा गिरावट आएपछि लगानीकर्ता अब तत्काल बजारमा लगानी बढाउनभन्दा ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने ३३ करोड रुपैयाँले बढेको छ ।

बिहीबार नेप्से परिसूचक १.०४ प्रतिशत अर्थात २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा झरेको छ । ठूला कम्पनीका कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले ओरालो लागेर ३९८.४२ बिन्दुमा अडिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएका छन् । कूल २५७ वटा कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर ३९ हजार ६४२ वटा संख्यामा खरिद बिक्री भएका हुन् ।

आज कारोबारमा आएका कूल १३ उपसमूहमध्ये सबै १३ वटै घटेको छ । सबैभन्दा धेरै जीवन बीमा सूचक २.१७ प्रतिशतले घटेको छ ।

बिहीबार स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सर्वाधिक १० करोड १३ लाख ९१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया बैंकको ५ करोड ५० लाख, आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख, अपि पावरको ४ करोड ८४ लाख र चिलिमे जलविद्युत कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ माथिको कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरी ४ करोड ४५ लाख, नेशनल हाइड्रोपावर ४ करोड ४१ लाख, रिडी पावर ३ करोड ८८ लाख, नबिल बैंक ३ करोड ७८ लाख, र शिवम् सिमेन्टस्को ३ करोड ३९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा गत आवको नाफाबाट २१ प्रतिशत लाभांश प्रस्ताव गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर १९२८ रूपैयाँ ९० पैसा पुगेको छ ।  त्यस्तै, सानिमा इक्विटी फण्ड, मल्टिपपर्स फाइनान्स, ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१, नबिल ब्यालेनस फण्ड–३, इमजिङ्ग नेपाल, नबिल बैंकको डिबेञ्चर ८२, उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमइए बैंकको डिबेञ्चर ८६र८७ र सगरमाथा इन्स्योरेन्सको सेयरको भाउ उकालो लागेको छ ।

उता सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेर ११५४ रूपैयाँमा झरेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स ५.२९, रिडि पावर कम्पनी ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.५५, नाडेप लघुवित्त ४.५३, मनकामना स्मार्ट लघुवित्त ४.४५ र इष्टर्न हाइड्रोपावर ४.४१, गुराँस लघुवित्त ४.३५, रसुवागढी हाइड्रोपावर कम्पनी ४.२९ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.११ प्रतिशतले घटेको छ ।

यससँगै बिहीबारको कुल बजार पूाजीकरण ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।