एक लाख ७४ हजार ३०० जनालाई सुपर मादीको आईपीओ बाँडफाँड

0
Shares

सुपर मादी हाइड्रोपावर कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनालाई बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको सेयर गोलाप्रथामार्फत १० कित्ताका दरले १ लाख ७४ हजार ३०० जनाले पाएका हुन् ।

सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ४ हजार २०८ वटा आवेदन परेको थियो । जसमध्ये रितपुर्वक नभएका ५ हजार ५१५ वटा आवेदन रद्द गरिएको थियो भने १२ लाख ९८ हजार ६९३ वटा आवेदनलाई सदर गरी बाँडफाँड सहभागि गराइएको थियो ।

कम्पनीको आईपीओ सेयर पाउने संख्या कुल आवेदकको १३.३६ प्रतिशत हो । यसअनुसार कम्पनीमा आवेदन दिएका १०५ जना आवेदकमध्ये १४ जनाले मात्र सेयर हात पारेका हुन् । कुल आवेदको ८६.६४ प्रतिशत अर्थात ११ लाख २९ हजार ९०८ जनाको हात खाली भएको छ ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको आईपीओको नतिजा हेर्ने वेवसाइट, मेरो सेयरको एप्लीकेसन रिर्पोट, बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र सुपर मादी हाइड्रोपावरको वेबसाइटबाट समेत हेर्न सकिने बताइएको छ ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म सर्वसाधारणबाट १७ लाख ४३ हजार कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो । कुल २१ करोड रुपैयाँको २१ लाख कित्ता आईपीओ जारी गरेकोमध्ये वैदेशिक रोजगारीमा रहेकालाई २ लाख १० हजार कित्ता, सामुहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता, कर्मचारीका लागि ४२ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसअघि कम्पनीले स्थानीय बासिन्दालाई १० लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो ।

१३ लाख ४ हजार २०८ जना सर्वसाधारण लगानीकर्ताहरुबाट मागको ८.३३ गुणा बढी अर्थात १ अर्ब ४५ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख २७ हजार ६३० कित्ता कित्ता सेयर खरिदको माग परेको थियो ।

५ हजार ५१५ वटा आवेदन रद्द

कम्पनीको सेयरमा आवेदन दिएको ५ हजार ५१५ वटा आवेदन रितपुर्वक नपरेका कारण रद्द भएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार दोहोरो आवेदन परेको सि आश्वा मार्फत १ हजार ३०८ वटा, स्थानीय बासिन्दाबाट दोहोरो आवेदन परेको ८०५, वैदेशिक रोजगारमा रहेकाहरुबाट दोहोरो आवेदन परेको ३३९४, संस्थापक सेयरधनीबाट दोहोरो आवेदन परेको ७ र कर्मचारीबाट परेको १ वटा आवेदन रद्द भएको हो ।

क्यापिटलका अनुसार सि-आश्वा मार्फत १७ हजार ५०० कित्ता, स्थानीय बासिन्दाबाट दोहोरो आवेदन परेको ११ हजार ३५० कित्ता, वैदेशिक रोजगारमा रहेकाहरुबाट दोहोरो आवेदन परेको ५२ हजार ८० कित्ता, संस्थापक सेयरधनीबाट दोहोरो आवेदन परेको १३० कित्ता र कर्मचारीबाट परेको १० कित्ता गरी कुल ८१ हजार ७० कित्ताको आवेदन रद्द भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार  १९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।