शिखर इन्स्योरेन्सको ३८ करोड ५० लाख बराबरको लाभांश पारित

0
Shares

शिखर इन्स्योरेन्स कम्पनीको एकैपटक सम्पन्न भएको दुई आर्थिक वर्षको साधारण सभाबाट कुल ३८ करोड ५० लाख २४ हजार ८२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार सम्पन्न भएको १७ औं तथा १८ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १६ प्रतिशतले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँ बराबरको बोनस सेयर र ०.८४ प्रतिशतले हुन आउने १ करोड ९२ लाख ५१ हजार ९० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । कम्पनी सञ्चालक समितिको मंसिर २९ गते सम्पन्न भएको २८७ औं बैठकले गत आवका नाफाबाट कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाबाट पारित १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड १८ लाख ५४ हजार रुपैयाँ नाघेको छ । जुन नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

यस्तै सभाले आगामी दिनमा कुनै कम्पनीसँग गाभ्ने तथा गाभिने तथा प्राप्तिमा जान उपयुक्त लागेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी समेत दिएको छ । सभाले कम्पनीको स्वतन्त्र सञ्चालक इन्द्र प्रसाद कर्मचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ । उनी गत माघ २३ गते बीमा ऐन २०७९ बमोजिम नियुक्त भएका थिए ।

सभाले वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सोलाई पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षकमा हालकै लेखापरीक्षक बिके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई कूल ४ लाख ५० हजार रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) पारिश्रमिकमा निरन्तरता दिएको छ ।

सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक बढाएर ३ जना, संस्थापक सेयरधनीबाट ३ जना, र स्वतन्त्र सञ्चालकमा एक जना गरी ७ जना सञ्चालक नियुक्त हुने व्यवस्था गरेको छ । यसअघि संस्थापकबाट ४, सर्वसाधारणबाट २ जना र स्वतन्त्रबाट १ जना नियुक्त हुने व्यवस्था थियो ।

सभाले सञ्चालक समिति सदस्यको भत्ता वृद्धि गरेको छ । अब अध्यक्षले बैठक भत्ता वापत प्रतिबैठक २० हजार रुपैयाँ, सदस्यलाई १८ हजार र अन्य समितिको प्रतिबैठक भत्ता वापत संयोजक तथा सदस्यलाई ९ हजार रुपैयाँ भत्ता पाउनेछन् । यसअघि अध्यक्षले प्रतिबैठक १२ हजार, सदस्यले १० हजार र उपसमितिका संयोजक तथा सदस्यलाई ५ हजार रुपैयाँ पाउँदै आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।