सगरमाथा जलविद्युतले थप्यो आईपीओ खरीद अवधि

0
Shares

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी गरेको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ ।

म्याद थपसँगै अब फागुन ५ गतेसम्म आवेदन सकिने भएको हो । यसअघि कम्पनीले माघ २६ गतेसम्म विक्री अवधि तोकेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रति सेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सकिनेछ ।

कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई आईपीओ जारी गरेको थियो । वैदेशिक रोजगारीमा रहेकालाई जारी भएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर बिक्री भने माघ १९ गते नै निष्कासन बन्द भैसकेको छ ।
स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले इलाम जिल्लामा ९.६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आयोजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा बढी रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाखभन्दा माथि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।