रिडी पावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी १५०.२४ प्रतिशत बढेपनि नाफा भने ९५.८१ प्रतिशत घटेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी ह्वात्तै घटेसँगै त्यसको असर मुनाफामा देखिएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ९६ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको हो । समीक्षा अवधिमा कम्पनीको लगानी तथा अन्य आम्दानी ९९.१५ प्रतिशत घटेका कारण खुद नाफा घट्न पुगेको हो । गत आवको यसै अवधिमा कम्पनीको लगानी तथा अन्य आम्दानी ६० करोड ८ लाख रुपैयाँ थियो । हाल ५१ लख २८ हजारमा खुम्चिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १८ करोड ४१ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७ करोड ३५ लाख ८८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.२४ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई आयोजनाबाट आम्दानी भइरहेकोमा चालु आर्थिक वर्षको थप दुई आयोजनाको बिजुली बिक्रीबाट आम्दानी थपिएपछि विद्युत बिक्री आय बढेको हो ।

चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको पुस मसान्तसम्ममा प्रति सेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा छ । यस्तै प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १५३.९३ गुणा छ ।
कम्पनीको जगेडामा ५२ करोड ५ लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.७२ प्रतिशत धेरै हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया