यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।
मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।
ट्राफिक जरिवाना घटाउनुपर्ने सहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोड सहित आन्दोलन गरेका थिए ।

उच्चस्तरिय कार्यदल मार्फत समस्या समाधान गरिने
यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदल मार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो ।
कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले जानकारी दिए । छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रुपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताएका थिए । उक्त बैठकसँगै आज उपत्यकामा गरिएका सबै सार्वजनीक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको थियो ।
बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, यातायात मजदुरका नेताको सहभागिता रहेको थियो ।
यस्तै, आज दिउँसो ३ बजे कार्यदलको बैठक यातायात व्यवस्था विभाग मीनभवनमा बसेको छ । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो । दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित लोह्त्से मल तोडफोड तथा चोरी भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया