कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’
कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उनी श्रीमानसँगै भद्रकाली मन्दिर परिसरमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गरिन् । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उनले सन्तोष व्यक्त गरिन् ।
‘गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ’, उनले भनिन् । मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट छन् ।
आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यतिबेला आफूले सम्हालेको उनको भनाइ छ । ‘लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु’, उनले भने । मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भीड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भीड लाग्ने गरेको उनको अनुभव छ ।

‘बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन’, उनले भनिन्, ‘शनिबार बढी भिड लाग्छ, औसतमा मासिक ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।’ भद्रकाली मन्दिर परिसरमा बिक्रीका लागि राखिने पूजा सामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।
महतरा जस्तै पूजा सामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककि रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकि छोरी र बहिनीको खर्च पूरा गरेकी छन् । उनले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाइन् । ‘पूजा सामग्री बिक्रीबाट मासिक करिब ७० हजार आम्दानी भइरहेको छ,’ उनले भनिन्, ‘कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।’ उनले विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजा सामग्री तयार गर्छिन् ।
मन्दिरमा भेटिएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजा सामग्री पसल चलाएकी छन् । विगत २५ वर्षदेखि पूजा सामग्री बेच्दै आएकी उनीे हाल बबरमहल बस्छिन् । ‘श्रीमान ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ’, उनले भनिन् । उनका अनुसार राम्रो कमाइ हुने दिन तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू सात/आठ सयमै चित्त बुझाउनुपर्छ ।
पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजा सामग्री बेच्दै आएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट छन् । उनलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै छन् । मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजा सामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिना अघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उनीहरु मन्दिर छेउमा बस्न सुरु गरेका छन् ।
पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उनीहरुको गुनासो छ । –रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया