अम्रिसोको भाउ बढ्दा ताप्लेजुङका किसान उत्साहित बनेका छन् । तीन वर्षअघि देखि प्रतिकिलो ३५ रुपैयाँका दरले बिक्री भइरहेको अम्रिसो गत वर्ष प्रतिकेजी १२० रुपैयाँमा बिक्रि हुन थालेपछि किसान खुसी बनेका हुन् ।
यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् । मूल्यमा उतार–चढाव आइरहे पनि यो वर्ष प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् ।
अम्रिसोको व्यापार गर्दै आएका स्थानीय रुपनारायण पाण्डेले प्रतिकिलो १२० रुपैयाँसम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरेका छन् । झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताए । अम्रिसो झापाको धुलाबारीमा पु¥याउँदा गत वर्ष १४१ रुपैयाँसम्म बिक्री भएको उनको भनाइ छ । पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ ।
कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ ।
हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया