तनहुँको बाख्रा फार्ममा आगलागी, ३२ लाख बराबरको क्षति


तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ ।

सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आइतबार आगलागी हुँदा क्षति भएको हो ।

आगलागीबाट चार बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएको प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामन पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए ।

सो फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए । प्रहरीका अनुसार राति ०१ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो ।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिङ्गापुर बसेर फर्किएका उपाध्यायले विसं २०७७ साल असारबाट उक्त फार्म सञ्चालन गरेका थिए । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।