पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ) प्रेस मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ ।
आज उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न समेत निर्देशन दिएकी छिन् । केन्द्रका लागि आवश्यक भौतिक निर्माणको काम भइरहँदा मन्त्री शर्माद्वारा अनुगमनका क्रममा दुई वटा उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) जडान भइसकेकाले केन्द्रका अधिकारीलाई चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न निर्देशन दिएकी हुन् ।
“अब जनशक्ति लगायत व्यवस्थापन गरी चैतदेखि छपाइको काम सुरु गर्नुस्”, मन्त्री शर्माले निर्देशन दिए । उनले केन्द्रको मुख्य भवन तथा जडित मेसिन, हालै निर्माण भएको गोदाम घर, आन्तरिक पहुँचमार्गसँगै थप भवन निर्माणका लागि भइरहेको काम तथा इन्धन भण्डारण र विद्युतीय व्यवस्थापनको अनुगमन निरीक्षण गर्दै गुणस्तरीय निर्माणमा ध्यान दिनसमेत निर्देशन दिएको हो । साथै उनले केन्द्रका लागि थप बजेट व्यवस्थापन गर्ने बताए ।
मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले केन्द्रमा क्रमशः राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्ड लगायत सुरक्षित छपाइका लागि तयारी गरिएको बताए । उनले भने, “अन्तःशुल्क छपाइको माग भएको छ, ढिला भए चैत अन्तिम सातादेखि छाप्न सुरु गर्नेछौं ।” केन्द्रको आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ ।
एक वर्षअघि इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ । हाल आन्तरिक राजस्व विभागले ४३ करोड अन्तःशुल्क स्टिकर छाप्न प्रस्ताव आएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए । उनका अनुसार केन्द्रमा चैतदेखि छपाइ गर्न कागज, मसी लगायत आवश्यक सामग्रीको टेन्डर आह्वान गरिएको छ भने जनशक्ति व्यवस्थापनको प्रक्रिया समेत थालिएको छ । यसअघि नमुनाका रुपमा मात्रै अन्तःशुल्क ‘स्टिकर’ छापिएको थियो ।
परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । केन्द्रको मुख्य भवनको अग्रभाग पुनःसजावको काम तथा लिफ्ट निर्माणको काम भइरहेको छ । बहुउद्देश्यीय भवनको २०७८ चैत १५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेका थिए । पचास मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।
भवनमा कच्चा पदार्थ र उत्पादित सुरक्षित मुद्रण भण्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुकेर जाने समस्या रहने छैन । उक्त बहुउद्देश्यीय भवन भूकम्प प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिस्टम’ गुणस्तरमा निर्माण हुनेछ । साथै भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्नसमेत सकिने जनाइएको छ ।
पौडेलका अनुसार हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ । प्रशासनिक प्रक्रियापछि अन्य मेसिन ल्याएर जनशक्ति र कच्चापदार्थ व्यवस्थापनपछि पूर्णरुपमा उत्पादन थाल्न करिब दुई वर्ष लाग्ने जनाइएको छ । अन्तःशुल्क स्टिकर छाप्ने दुई थान छपाइ मेसिन र एक थान डाई कटिङ प्याकिङ मेसिन ल्याइएको थियो । अघिल्लो आर्थिक वर्षको ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको हो ।
केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि तीन वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्कलाई सुरक्षण मुद्रण) केन्द्रमा परिणत गरिएको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्थानार्थ पनौती नपा–५ स्थित प्रयोगविहीन अवस्थामा रहेका उक्त पार्क छनोट गरी निर्णय गरेका थिए ।
विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई विसं २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । प्रेसको काम थाल्न आव २०७६÷७७ मा १ अर्ब ९ करोड बजेट विनियोजन भई कामको सुरुआत गरिएको हो । प्रारम्भिक चरणमा करिब ३३ अर्ब रुपैयमँमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने जनाइए पनि आवश्यक भौतिक निर्माणलाई लक्षित गरी बजेट दिने गरिएको छ ।

प्रेस निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको छ । खानेपानीका लागि एक/एक लाख लिटरका दुई खानेपानीका ट्याङ्की निर्माण, चार मेगावाटका चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अन्डरग्राउन्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भइसकेको छ ।
प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिकरुपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिन अपेक्षा गरिएको छ । पूर्णरुपमा केन्द्र सञ्चालनका लागि २०० प्राविधिक सहित करिब १ हजार जनशक्तिको आवश्यकता पर्ने जनाइएको छ । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुई ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवन लगायत ९ भवन छन् ।
सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क तथा दक्षिणपूर्वी एशियाका राष्ट्रलाई उपलब्ध गराउनेछ ।
साथै तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया