गैँडा मारेको मुद्दामा फरार एक जना पक्राउ

0
Shares

गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।

विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो । त्यसयता भीमबहादुर फरार थिए ।

भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।