पाकिस्तानले वर्षौँदेखि घाटामा रहेको राष्ट्रिय ध्वाजावाहक एयरलाइन्स कम्पनी–पाकिस्तान इन्टरनेशनल एयरलाइन्स निजी क्षेत्रलाई हस्तान्तरण गर्ने भएको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले पछिल्लो समयमा घाटामा गएका सरकारी स्वामित्वका कम्पनीहरुको निजीकरण सुरु गरेको छ । अगस्ट ७ तारिखमा बसेको क्याबिनेट बैठकले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई समेत निजीकरण गर्ने कम्पनीहरुको सूचीमा राखेको हो ।
सन् २०२० मा पाकिस्तानको ध्वाजावाहक एयरलाइन्स कम्पनीले बेलायतका लागि भरेको उडानमा नक्कली पाइलट संलग्न भएको पाएपछि युरोपियन क्षेत्रको एभिएसन सेफ्टी एजेन्सीले युरोप क्षेत्र र बेलायतमा कम्पनीको उडान प्रतिबन्ध लगाएको थियो। युरोप र बेलायतमा गरिने उडानमा प्रतिबन्ध लागेपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स निरन्तर घाटामा गएको छ।
आगामी ३ महिनामा बेलायत, युरोप र अमेरिकाका लागि उडान सुचारु गर्ने पाकिस्तानका उड्डयन मन्त्री कवाजा साद राफिकले जानकारी दिएका छन् । आर्थिक रुपमा संकटले घेरिएको पाकिस्तानले सरकारी कम्पनीहरुलाई थप घाटामा जान नदिन र अर्थतन्त्रमा सकरात्मक सुधार ल्याउन केही घाटामा गएका कम्पनीहरुको निजीकरण गरिरहेको छ ।
उच्च मुद्रास्फीति र खुम्चिदै गरेको विदेशी सञ्चितिका कारण आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३ अर्ब डलर ऋण सहयोग गरेको छ ।










प्रतिक्रिया