
सिद्धार्थ इन्टरनेशनल होटल प्रालिले आर्थिक वर्ष २०७९/८० मा आफ्ना दुई होटल चेन मार्फत ७ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०१४ मा स्थापना भएको सिद्धार्थ इन्टरनेशनल होटल प्रालिले भैरहवामा ‘सिद्धार्थ भिलासा’ र काठमाडौँको बौद्धमा सिद्धार्थ बुटिक होटल सञ्चालन गरिरहेको छ ।
बौद्धको सिद्धार्थ बुटिक होटलको निर्माण सन् २०२१ मा सम्पन्न भई सञ्चालनमा समेत आएको थियो । तथापि सन् २०२१ मा विश्वव्यापी रुपमा महामारी फैलिएपछि नेपालमा पर्यटकहरुको आगमन घट्दै गयो । बौद्ध क्षेत्रमा मुख्यतः चिनियाँ पर्यटकहरुको आवतजावत बढी हुने गर्छ । तर कोभिडका कारण चीनले सीमा क्षेत्र बन्द गर्दा नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पुगेको थियो । उक्त समयमा विभिन्न होटलहरु बन्द हुने अवस्थामा समेत पुगेका थिए । त्यही समयमा सञ्चालनमा आएको सिद्धार्थ बुटिक होटलले कोभिडका कारण राम्रो आम्दानी गर्न सकेको थिएन ।
यस्तै कोभिड–१९ का कारण नेपालका अन्य क्षेत्रमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरुको आवतजावत रोकिएको थियो । जसकारण यी दुई होटलको आम्दानी प्रभावित बन्न पुग्यो । यस्तै होटलमा गरेको लगानीबाट फाइदा उठाउन धेरै वर्ष लाग्ने हुँदा सन् २०२२ र २०२३ मा कम्पनीको नाफा नकारात्मक रहेको छ ।
तथापि सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड–१९ को प्रकोप फैलिनबाट रोकिएसँगै नेपालमा पछिल्लो समयमा पर्यटकहरुको आगमन बढ्दै गएको छ । बौद्ध धर्म मान्ने मानिसहरुका लागि काठमाडौंको बौद्धनाथ स्तुपा र लुम्बिनीको सिद्धार्थ गौतम बुद्धको जन्मस्थलले ठूलो महत्व राख्छ । तसर्थ बढ्दै गएको पर्यटकहरुको सङ्ख्याले होटलको आम्दानी आगामी दिनहरुमा बढ्ने देखिन्छ ।
कम्पनीमा ददिकला बिजनेस ग्रुपको सेयर हिस्सा ३६.५० प्रतिशत, कृष्ण प्रसाद भण्डारीको ५ प्रतिशत र मुक्तिराम भण्डारीको लगानी ५ प्रतिशत रहेको छ । कम्पनीले १ अर्ब २२ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले १ अर्ब २० करोड ९७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र १ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।
सिद्धार्थ इन्टरनेशनल होटलले सञ्चालन गर्दै आएको भैरहवाको सिद्धार्थ भिलासा होटलमा कुल ८५ कोठा रहेका छन् भने बौद्धको सिद्धार्थ बुटिक होटलमा कुल ५० कोठा रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया