एकीकृत निर्देशन संसोधनमा कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति महासंघको आपत्ति

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार महासंघद्धारा उठाउँदै आएको चालु पुँजी कर्जा मार्गदर्शनको आंशिक संसोधनलाई सकारात्मक रुपमा लिएको बताउँदै सोही दिन भएको कर्जा सम्बन्धमा भने आपत्ति जनाएको हो । सोमबार गरिएको दुई प्रावधानले निजी क्षेत्रलाई हतोत्साही बनाउनुका साथै बैंक वित्तिय संस्थाको खराब कर्जा अनुपात बढ्न गई अर्थतन्त्रमा नै प्रतिकुल असर पर्ने महासंघले जनाउँदै तत्काल संसोधन गर्न आवश्यक रहेको बताएको हो ।

एकीकृत निर्देशनमा कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोहि बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक अन्र्तसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोही निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको थियो ।

यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति विविध किसिमका नकारात्मक प्रचार एवं टिकाटिप्पणी भैरहेको प्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सद्भाव र व्यवसायिक वातावरणमा खलल पुग्ने गरि भैरहेका गतिविधिले अर्थतन्त्र र सामाजिक संरचनामा नै नकारात्मक प्रभाव पर्ने हुँदा यस तर्फ सचेत रहन महासंघ सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।