नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाण्डौं सुकेटार उडान सुरु गरेको छ ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाण्डौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिएका छन् ।
लामो समयपछि भएको उडानमार्फत काठमाण्डौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ आएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए । करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाण्डौं ताप्लेजुङको भाडा यसअघि नौ हजार ६५३ रुपैयाँ थियो भने हाल घटाएर आठ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाण्डौंको भाडा यसअघि नौ हजार ४५३ रुपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार ४०० रुपैयाँमा झारिएको छ ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया