श्रम बजार व्यवस्थित गर्न राजदूत र कुटनीतिज्ञसँग प्रधानमन्त्रीले थाले छलफल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन १३ देशका नेपाली राजदूतसँगको बृहत् छलफल सुरु गरेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तरक्रिया सोमबारबाट सुरू भएको हो ।

अन्तरक्रियामा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवज्यूहरू, विदेशस्थित विभिन्न १३ देशका महामहिम नेपाली राजदूतहरू र कुटनीतिज्ञहरू उपस्थित छन् । अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भइरहेको छ ।

यस उच्चस्तरीय अन्तरक्रियाले श्रम बजार व्यवस्थित गर्न र विदेशमा रहेका नभएका नेपाली श्रमिक तथा कामदारहरूका समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।