वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट, विदेशिने दक्ष कामदार भने बढे


आर्थिक वर्ष (आव) को दोस्रो महिना अर्थात भदौमा वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आएको हो ।

भदौमा कामको खोजीमा ५० हजार ८८४ जना बाहिरिएका छन् । यो अघिल्लो आवको तुलनामा ३३.७५ प्रतिशत कम हो । गत आव (२०७८\७९) को भदौमा ७६ हजार ८०३ जना नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए ।

यता साउनको तुलनामा पनि भदौमा बाहिरिनेको संख्या पनि घटेको विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएका थिए । साउनको तुलनामा भदौमा बाहिरिनेको संख्या ४ हजार ६९१ ले घटेको हो । अघिल्लो आवको एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७९\८० मा नयाँ रेकर्ड बनाएको यो संख्या अब भने घट्ने संकेत गरेको छ । किनकी अघिल्लो आवको दुई महिनामा १ लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृती लिँदा चालु आवमा १ लाख ६ हजार ४५९ जनाले मात्र श्रम स्वीकृती लिएका छन् । भदौमा ३५ हजार ३०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २९ हजार ८७५ रहेका छन् भने ५ हजार ४२८ जना महिला रहेका छन्।

प्रमुख गन्तव्य यूएई

कुनै बेला मलेसिया र कतार प्रमुख गन्तव्य बनेको नेपालीको रोजाइमा अब भने संयुक्त अरब इमिरेट्स  (यूएई) परेको छ । भदौमा यूएईमा मात्र ११ हजार ७०९ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ । कतारमा भदौमा ९ हजार ७६७ जना विदेशिएका छन् । साउदी अरेबियामा ८ हजार ८३९ जना गएका छन् । मलेसियामा भने ८ हजार १७९ जना गएको विभागको तथ्यांकले देखाएको छ ।

यता कुवेतमा ३ हजार ३६१ जना नेपाली पुगेका छन् भने कोरियामा ८७२ जना नेपाली पुगेका छन् । गत आवको भदौमा मलेसिया प्रमुख गन्तव्य बनेको नेपालीको रोजाइमा यस वर्ष भने यूएई परेको छ । अघिल्लो आवमा मलेसियामा मात्र ३५ हजार ३७२ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए भने यूएईको लागि जम्मा ८ हजार ३६५ जनाले मात्र श्रम स्वीकृती लिएका थिए ।

यस्तै, चालु आवमा माल्टाको लागि १ हजार ५३ जनाले श्रम स्वीकृती लिएका छन् । बहराइनको लागि ४६३ जनाले श्रम स्वीकृती लिँदा क्राेएसियाको लागि ८९२ जनाले श्रम स्वीकृति लिएका छन् । यसैगरी, जापानको लागि ९४६, ओमानको लागि ३८०, चीनको लागि २७५, माल्दिभ्सको लागि ६५९, मौरिससको लागि ५४६, रोमानियाको लागि ५४२, पोल्याण्डको लागि २५३ जलनाले श्रम स्वीकृती लिएका छन् भने अफगानस्थानमा रोजगारीका लागि ५३ जनाले श्रम स्वीकृती लिएका छन् ।

काम सिकेर जाने श्रमिकको संख्या बढ्दै

केही वर्ष अगाडिसम्म अदक्ष कामदारको संख्या धेरै हुने गरेकोमा अब भने केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या बढ्दै गएको देखिन थालेको छ । साउनमा श्रम स्वीकृति लिएकामध्ये केही न केही काम सिकेर दक्ष भई विदेश जाने नेपालीको संख्या ३५ हजार ८१० जना रहेको छ । अदक्ष कामदारको संख्या १० हजार ८४९ जना रहेको छ ।

भदौ महिनामा केही मात्रामा काम सिकेर जाने नेपालीको संख्या ४ हजार ९९ जना छ भने ८७ जना प्रोफेसनल बाहिरिएका छन् । यस्तै उच्च दक्ष योग्यता हासिल गरेका ३९ जना बाहिरिएको वैदेशिक विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।